काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज पाँचदिने भ्रमणका लागि मुस्ताङ जाने भएका छन् । शनिबार र आइतबारको बिदासमेत उपयोग गर्ने गरी प्रधानमन्त्री शाह मुस्ताङ जान लागेका हुन्। प्रधानमन्त्री सहितको यात्राको लागि बालुवाटारबाट निस्किसकेको र उनीहरु सुरुङमार्ग हुँदै जाने भएका छन् ।
यसअघि प्रधानमन्त्री काठमाडौं–पोखरासम्म प्लेनमार्फत जाने र त्यसपछि मुस्ताङ पुगेर आजै फर्किने जानकारी प्रधानमन्त्री कार्यालयका एक सूत्रले सार्वजनिक गरेपनि उनको भ्रमण पाँच दिनको हुने र अधिकांश यात्रा सडकमार्गबाटै गर्ने तयारी रहेको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ।
प्रधानमन्त्री शाह काठमाडौं–कुरिनटार–पोखरा–कुश्मा हुँदै सडकमार्गबाट मुस्ताङ पुग्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शनसमेत गर्नेछन्। प्रधानमन्त्रीसँग सचिवालयका केही सदस्य पनि रहनेछन्। उनको मुस्ताङ जाने विषय प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेपनि जाने रुट र बस्ने दिनका बारेमा भने सूचना गोप्य राखेको छ । यधपी उनी भदौं ९ गते मात्र काठमाडौं फर्किने गरी भित्री कार्यक्रम बनेको छ ।
रोचक संयोग के छ भने प्रधानन्यायाधीश मनोजकुमार शर्मा पनि आजै मुस्ताङ जाँदै छन्। उनी भने काठमाडौं–पोखरा हवाईमार्ग हुँदै मुस्ताङ जाने तयारीमा छन्। कार्यपालिका प्रमुख प्रधानमन्त्री र न्यायपालिका प्रमुख प्रधानन्यायाधीश एकै दिन मुस्ताङ जान लागेपछि उनीहरूको भ्रमणलाई लिएर चासो बढेको छ।
यद्यपि, प्रधानन्यायाधीश शर्माको मुस्ताङ भ्रमण अदालत निरीक्षणसँग सम्बन्धित रहेको बताइएको छ। प्रधानमन्त्री र प्रधानन्यायाधीशको भ्रमणको उद्देश्य फरक भए पनि दुवैको मुस्ताङ जाने कार्यतालिका एकै दिन पर्नुलाई संयोगका रूपमा लिइएको छ।
यसअघि साउन २९ देखि भदौ ३ गतेसम्म नेपालस्थित अमेरिकी दूतावासको सार्वजनिक मामिला विभाग प्रमुख माइक एम. हार्करसहितको विशेष टोली मुस्ताङमा बसेर फर्किएको थियो। टोलीले लो–घ्याकर गुम्बा आसपासका क्षेत्रमा भ्रमण तथा अवलोकन गरेको थियो।