काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतालाई समेट्दै नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण र समाजवाद उन्मुख अर्थतन्त्रको मार्ग प्रशस्त गरेको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले राज्यबाट उपलब्ध हुने सेवा र सुविधामा समान पहुँच सुनिश्चित गर्नुका साथै सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउनु संविधानको प्रमुख उद्देश्य भएको बताए । संविधानको मर्मलाई व्यवहारमा उतार्न सबै नागरिकले मन, वचन र कर्मले इमान्दार प्रयास गर्नुपर्नेमा उनले जोड दिए ।
उहाँले देशको प्राकृतिक स्रोत, जलस्रोत र ऊर्जाको उचित उपयोग गर्न सकिए नेपाल छिट्टै समुन्नत राष्ट्र बन्ने विश्वास व्यक्त गर्नुभयो । विविध भूगोल, बहुजाति, बहुभाषी र बहुसंस्कृतिलाई संविधानले समान संरक्षण दिएको भन्दै आपसी सद्भाव र सहअस्तित्वलाई अक्षुण्ण राख्नुपर्ने आवश्यकता उनले औंल्याए ।
संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै गणतन्त्रको स्थापनार्थ जीवन आहुति दिने सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरे । साथै उनले लोकतान्त्रिक आन्दोलनमा अग्रसर राजनीतिक दलका नेतादेखि सर्वसाधारण नागरिकसम्मको योगदानको उच्च प्रशंसा गरे ।