धनगढी । गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ। एमबीबीएससहित बीएस्सी एमएलटी र बीएस्सी नर्सिङ कार्यक्रम सुरु गर्ने लक्ष्यसहित विश्वविद्यालयले आवश्यक जनशक्ति, अस्पताल र अन्य पूर्वाधार व्यवस्थापनको काम अघि बढाएको हो।
चिकित्सा शिक्षा सञ्चालनका लागि आवश्यक प्रमुख शर्तमध्ये तीन वर्षसम्म कम्तीमा तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन भएको हुनुपर्ने व्यवस्था छ। यही मापदण्ड पूरा गर्न सुदूरपश्चिम प्रदेश सरकारले सेती, महाकाली, टीकापुर र लम्की प्रादेशिक अस्पताललाई विश्वविद्यालय मातहत ल्याउन स्वीकृति दिइसकेको छ।
विश्वविद्यालयले अब चिकित्सा शिक्षा आयोगको अनुगमनपछि अध्यापन सुरु गर्ने बाटो खुल्ने अपेक्षा गरेको छ। आयोगको टोलीलाई केही दिनभित्रै अनुगमनका लागि बोलाउने तयारी भइरहेको विश्वविद्यालयका उपकुलपति डा. सुनीलकुमार जोशीले बताए।
उनका अनुसार आयोगले तोकेका मापदण्ड पूरा गर्न आवश्यक तयारी भइरहेको छ। अनुगमनका क्रममा पूर्वाधार, जनशक्ति, अस्पतालको क्षमता तथा अन्य शैक्षिक संरचनाको मूल्यांकन हुनेछ। मापदण्ड पूरा भए आयोगले विषयअनुसार विद्यार्थी संख्या निर्धारण गरी अध्यापनको अनुमति दिनेछ।
चिकित्सा शिक्षा सञ्चालनका लागि विश्वविद्यालयले जनशक्ति व्यवस्थापनलाई पनि प्राथमिकता दिएको छ। प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा आवेदन आह्वान गरिएकोमा पहिलो चरणमा १७ जना छनोट भएका छन्। तीमध्ये १२ जनाले नियुक्तिपत्र बुझिसकेका छन्। दोस्रो चरणमा थप ४२ जना उपप्राध्यापक छनोट गरिएको छ।
करिब सात अर्ब रुपैयाँको लागतमा निर्माण गरिएको विश्वविद्यालयको भौतिक पूर्वाधार तयार भएको दुई वर्ष बितिसकेको छ। त्यहाँ छ सय शय्यासम्मको अस्पताल सञ्चालन गर्न सकिने संरचना निर्माण गरिएको भए पनि हाल ५० शय्याको अस्पताल मात्र सञ्चालनमा छ।
अब विश्वविद्यालयले तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालनलाई मुख्य प्राथमिकतामा राखेको छ। उपकुलपति जोशीका अनुसार कोभिड–१९ होल्डिङ सेन्टरबाट पाँच सय शय्या अस्पतालमा ल्याइसकिएको छ। तीन सय शय्याको अस्पताल सञ्चालनका लागि २०७८ सालमै मन्त्रिपरिषद्बाट निर्णय भइसकेकाले थप निर्णय आवश्यक नरहेको उनको भनाइ छ।
अस्पतालको क्षमता विस्तार, जनशक्ति व्यवस्थापन र चिकित्सा शिक्षा आयोगको स्वीकृतिपछि गेटामा लामो समयदेखि तयार अवस्थामा रहेको स्वास्थ्य विज्ञान विश्वविद्यालयले औपचारिक रूपमा चिकित्सा शिक्षा सुरु गर्ने अपेक्षा गरिएको छ।