३ कुर्सीका लागि १२ दाबेदार, सुदूरपश्चिममा सत्ता संघर्ष उत्कर्षमा

शुक्रबार, ०५ भदौ २०८३  ·  newsportal

३ कुर्सीका लागि १२ दाबेदार, सुदूरपश्चिममा सत्ता संघर्ष उत्कर्षमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि चर्चामा रहेको मन्त्रिपरिषद् विस्तार अब निर्णायक चरणमा पुगेको छ। नेकपाको नेतृत्वमा रहेको प्रदेश सरकारले तीन मन्त्री र दुई राज्यमन्त्री थप्ने तयारी अघि बढाएसँगै सम्भावित मन्त्रीहरूको नाम छनोटका लागि केन्द्रमा छलफल हुन लागेको हो।

प्रदेशबाट मन्त्रीका लागि १२ जना आकांक्षीको नाम केन्द्रमा पठाइएको छ। तर, तीन मन्त्रीका लागि १२ जनाबीच सहमति जुट्न नसकेपछि अन्तिम निर्णयको जिम्मा केन्द्रलाई दिइएको नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशीले बताए।

उनका अनुसार साबिक नेकपा माओवादीबाट ७, नागरिक उन्मुक्ति पार्टीबाट ३ र नेकपा एकीकृत समाजवादीबाट २ जनाको नाम सिफारिस गरिएको छ।

माओवादीतर्फबाट ओमविक्रम भाट ‘सरल’, शिवसिंह ओली, मानबहादुर धामी, अक्कल रावल, झपट साउद, लक्ष्मी विक र जानकी पौडेल आकांक्षी छन्। नागरिक उन्मुक्तिबाट कैलाश चौधरी, खुसीराम चौधरी र इन्दिरा गिरी तथा एकीकृत समाजवादीबाट प्रकाश रावल र नरेश शाहीको नाम पठाइएको छ।

केन्द्रले यी नाममध्ये तीन जनाको टुंगो लगाएपछि उनीहरूलाई प्रदेशमा पठाइनेछ। त्यसपछि भौतिक पूर्वाधार विकास, उद्योग–पर्यटन–वन तथा वातावरण र आन्तरिक मामिला मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ।

मुख्यमन्त्री खगराज भट्टले यसअघि नै सरकार विस्तार छिट्टै गर्ने संकेत दिइसकेका छन्। विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने उनको प्रतिबद्धताअनुसार अहिले अन्तिम गृहकार्य भइरहेको हो।

यसअघि एमालेको तर्फबाट आर्थिक मामिलामा चक्र मल्ल, सामाजिक विकासमा सन्तोषी थापा शर्मा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा दमन भण्डारी नियुक्त भइसकेका छन्। आर्थिक मामिला राज्यमन्त्रीमा जानकी बम ऐरलाई जिम्मेवारी दिइएको छ।

अब नेकपाबाट तीन मन्त्री र दुई राज्यमन्त्री थपिएपछि सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ। केन्द्रबाट नाम प्राप्त हुनासाथ नियुक्ति प्रक्रिया अघि बढाउने तयारी रहेको प्रदेश नेतृत्वले जनाएको छ।